गोरखा, १६ असार । गोरखाको भीमसेन थापा गाउँपालिकाले आजदेखि एकैचोटी पालिका भित्र जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको छ ।
गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष लोकप्रसाद बञ्जराले पालिका भित्रका जेष्ठ नागरिक असाहाय तथा विपन्न व्यक्तिहरुको घर घरमा पुगेर निशुल्क स्वास्थ्य उपचार घोषणा गर्नु भएको थियो । सोही घोषणा अनुरुप गाँउपालिकाले पालिका भित्रका सवै वडाबाट एकै पटक घरघरमा स्वास्थ्यकर्मी परिचालन घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
‘गाउँ टोल घर घरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको उहाँले बताउनुभयो । गाँउपालिकाको आयोजनामा आज बिहान वडा नंं ३ स्थित मानव सेवा आश्रम (बुढी गण्डकी वृद्धाश्रम) बाट कार्यक्रमको औपचारिक सुरुवात गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
कार्यक्रमको सुरुवात गर्दै अध्यक्ष बञ्जाराले पालिका भित्र रहेका असाहाय, अशक्त भएका व्यक्तिहरुको सहारा स्थानीय सरकार हुनुपर्ने बताउनुभयो । ‘कोही अभाव, तनावमा छ भने उसको अभाव परिपूर्ति गर्न स्वंयम उ सँग बल, बृद्धि र श्रम हुन्छ,’ उहाँले भन्नुभयो ‘ कहाँ के नमिलेर व्यक्ति गरिबी तथा भोकमरीमा परिरहेको हो त्यसलाई बुझेर उसलाई अघि बढाउन काम र माम जुटाएर सहयोग गर्नुपर्छ ।’ अध्यक्ष बन्जराले अबको ५ दिन भित्रमा पालिका भित्रका सवै जेष्ठ नागरिक, बिपन्न, आसाहाय व्यक्तिको घरमा स्वास्थ्यकर्मी पुगिसक्ने बताउनुभयो ।
अहिलेसम्म पालिका भित्र कति त्यस्ता लक्षित व्यक्ति छन् त्यसको एकिन बिबरण नरहेको पाइएकाले अब त्यसको समेत स्पस्ट तथ्याङक बाहिर आउने उहाँको भनाई छ । अध्यक्ष बन्जराले पालिका भित्र रहेका बरोजगारीलाई रोजगारीको अवसर सिर्जना गर्न आफुहरु लागी परिरहेको बताउनुभयो । गाउँपालिकाले आजदेखि सुरु गरेको यो अभियान अबदेखि निरन्तर नियमित रुपमा ८ वटै वडामा सञ्चालन गरिने अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।