गोरखा, १५ असार । गोरखाको भीमसेन थापा गाउँपालिकाले हरियाली अभियान सुरु गरेको छ । गाउँपालिकाले पालिकाको सडक क्षेत्रमा बिरुवा रोपेर गाउँपालिकामा हरियाली अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
ग्रेट, स्मार्ट, हरियाली, सम्बृद्ध र समाजबाद उन्मुख नमुना गाउँपालिका बनाउने घोषणा गर्नुभएका अध्यक्ष बन्जराको अभियान अन्र्तगत नै पालिका भित्र पर्ने खान्चोक, दरो गौडाको खाली जग्गामा बृक्षारोपण गरिएको हो ।
डिभिजन बन कार्यालय गोरखाको करिब २ लाख रुपैयाको लागतमा बृक्षारोपण गरिएको उहाँले बताउनुभयो । ‘थोरै क्षेत्र फलमा भएपनि सूरुवात गरिएको छ, उहाँले भन्नुभयो, चालु आर्थिक बर्षमा बन कार्यालयसंग सहकार्य गरेर अभियानको थालनी गरिएको छ, अव आगामी आर्थिक बर्षदेखि भने पालिकाले नर्सरीबाट बिरुवा उत्पादन गरि अभियानको प्रर्वद्धन गर्ने योजना छ ।
बन कार्यालयको सुन्दर सडक कार्यक्रम अन्र्तगत अभियान अन्र्तगत खान्चोक सामुदायिक बन उपभोक्ता समितिसंग सम्झौता गरी बृक्षा रोपण गरिएको हो । सो अबसरमा कपुर, असोका, म्याङगो स्टिक, धुपी, कल्की फुल, तेजपत्ता जस्ता प्रजातीका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
बृक्षारोपण कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख अमृता वस्ती, वडा नम्बर ५ का वडाध्यक्ष होमबहादुर बरामु, प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, वडा नम्बर ५ का वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।