बागलुङ, १५ असार । बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।
पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते हुनु भएको थियो। उहाँको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस