Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

काठमाडौंको फोहोर व्यवस्थापन कार्य दुई दिनसम्म प्रभावित हुने


1.4K
Shares

काठमाडौंको फोहोर व्यवस्थापन कार्य दुई दिनसम्म प्रभावित हुने

काठमाडौं, १४ असार । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो।

सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डंगुर पार गर्नुपर्ने बाध्यता छ।

वर्षाको समय सुरू भएसँगै फोहोर कुहिन थालेको छ। कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ।

निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन्।

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए।

वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहोर व्यवस्थापन हुँदै आएको छ।

हरेक वर्ष वर्षातको समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ।

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो।

सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बने पनि बाटोको कारण सहज भने भएको छैन।

यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ।

विभागका अनुसार फोहोर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology