काठमाडौं, १२ असार । सङ्घीय संसदले लोक सेवा आयोग सम्बन्धी विधेयक पारित गरेको छ । २०७६ साल २५ भदौमा प्रतिनिधिसभामा पेश भएको यो विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मै पारित भएको थियो ।
प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको थियो । आज प्रतिनिधिसभाले, राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई स्वीकार गरेको हो ।
प्रतिनिधिसभामा उत्पत्ति भएको विधेयकलाई पारित गरेर पठाएको भए पनि राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधिसभाले फेरि स्वीकार गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यही व्यवस्था अनुसार आज प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाले गरेको संशोधनलाई स्वीकार गरेको हो । योसँगै लोक सेवा आयोगसम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ र संसद भित्रको कानुन निर्माणको प्रक्रिया पूरा भएको छ ।