काठमाडौं, ८ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राख्नु भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नु भयो, ‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पूरा गरेर चाँडै पेश हुन्छ ।’
बैठकमा सहभागी एक नेताका अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावबारे भने कुनै निर्णय भएको छैन ।
नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी, कांग्रेस नेतृत्वको सरकारमा छ । त्यसैले ७ वर्षे प्रावधान राखेर नागरिकता विधेयक अघि बढ्ने सम्भावना कम छ । तर के गर्ने भन्ने सहमति भइनसकेको गठबन्धनको बैठकमा सहाभागी एक नेताले बताउनु भयो ।