Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाका ९२ प्रतिशत उम्मेद्‌वारले अझै बुझाएनन् स्थानीय निर्वाचनको खर्च विवरण


2.6K
Shares

गोरखाका ९२ प्रतिशत उम्मेद्‌वारले अझै बुझाएनन् स्थानीय निर्वाचनको खर्च विवरण

गोरखा, १ असार । स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्‌वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचनको नतिजा सार्वजानिक भएको ३० दिनभित्र आयोगलाई विवरण बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरूलाई आग्रह गरेको थियो । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका दुई हजार २२ जनाले उम्मेदवारी दिएका थिए । यसैगरी ३३ जना कार्यपालिका सदस्य पनि थपिँदा दुई हजार ५५ जनाले विवरण बुझाउनु पर्ने निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार अब एक हजार २३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको देखिन्छ । अहिलेसम्म मात्र ८.३६ प्रतिशतले विवरण बुझाएका छन् ।

विवरण आउने क्रम जारी रहेको छ । तर अब धेरै दिन नभएकाले सबैले समयमै विवरण बुझाउने आशा गरेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताउनु भयो हालसम्म धार्चे गाउँपालिकाका १२, अजिरकोट गाउँपालिकाका १९, गोरखा नगरपालिकाका २९, बारपाक सुलिकोट गाउँपालिकाका १६ र गण्डकी गाउँपालिकाका १२ जनाले विवरण बुझाएका छन् ।

यसैगरी शहीद लखन गाउँपालिकाका १२, आरुघाट गाउँपालिकाका ५२, सिरानचोक गाउँपालिकाका ३, चुमनुब्री गाउँपालिकाका २, पालुङटार नगरपालिकाका ११ र भीमसेन थापा गाउँपालिकाका १ जना गरी कुल १६९ जनाले विवरण बुझाएका छन् । तीन जना कार्यपालिका सदस्यहरूले पनि निर्वाचन खर्च विवरण बुझाएको सूचना अधिकारी सुवेदीले जानकारी दिनु भयो । निर्वाचन सकिएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेद्‌वारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology