काठमाडौं, २७ जेठ । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो।
भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्। महाराष्ट्रमा २ हजार ८१३ संक्रमित फेला परेका छन् भने केरलामा २ हजार ४१५ जना नयाँ संक्रमित फेला परेका छन्।
यस्तै राजधानी नयाँ दिल्लीमा ६ सय २२ जना नयाँ संक्रमित फेला परेका छन्।
यसअघि शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित भेटिएका थिए।
लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्।
जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका हुन्।
भारतमा बुधबार ७ हजार १४४ जना संक्रमित फेला परेका थिए। मंगलबार ६ हजार २८ संक्रमित फेला पर्दा सोमबार ३ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ। यस्तै ३ हजार ६९३ जना निको भएका छन्।
सरकारी तथ्यांकअनुसार हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ७३ छ।