गोरखा, १६ जेठ । गोरखाको शहिद लखन र भिमसेन थापा गाऊँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै जिल्लाको शहिद लखन र भिमसेन थापा गाऊँपालिकाको कार्यपालिका गठन प्रक्रिया सम्पन्न गरेको हो ।
आज (सोमबार) शहिद लखनमा गाऊँसभाका सदस्यहरुले कार्यपालिकाका लागि ६ सदस्य चयन गरेका हुन् । कार्यपालिकाका थप सदस्य चयनका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले सहकार्य गरेका थिए ।
निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा माओवादी केन्द्रबाट विमला ढुंगाना अंगाईं, गिता परियार तथा नेपाली काँग्रेसबाट लिना थापामगर र हस्तकुमारी गुरुङ निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक, दलित र सिमान्तकृत समुदायबाट चयन हुने २ सदस्यमा माओवादी केन्द्रका कृष्णबहादुर प्रजा तथा नेपाली काँग्रेसकी शोभा मग्राती निर्वाचित भएका छन् ।
यससँगै शहिद लखन गाऊँपालिकाको १६ सदस्यीय कार्यपाालिका र ४८ सदस्य रहेको गाऊँसभाले पूर्णता पाएको छ ।
यस्तै आजै भिमसेन थापामा दुवै दलको मत परिणम बराबर भएपछि गोला प्रथाा गरेर कार्यपालिका सदस्यहरु चयन गरेका छन् ।
महिला सदस्य तर्फ चार सिटमा ३ जना नेपाली काँग्रेसबाट कलपना खलान, टंक कुमारी बिक र पार्वती थापा निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट सम्झना बसेल निर्वाचित भएका हुन् ।
यता अल्पसंख्यक, दलित र सिमान्तकृतको तर्फबाट २ सदस्यमा माओवादी केन्द्रका गोपाल बि.क र कृष्ण बहादुर सुर्खेती चयन भएका छन् । यससँगै भिमसेन थापा गाऊँपालिकाको १६ सदस्यीय कार्यपाालिकाले पूर्णता पाएको हो ।