गोरखा, १५ जेठ : जिल्ला निर्वाचन कार्यालय कार्यालय गोरखाले जिल्लाका ११ वटै स्थानीय तहका उमेद्वारहरुलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ । कार्यालयले निर्वाचनमा सहभागी प्रत्येक उमेद्वारले निर्वाचनका क्रममा आफुले गरेका खर्चको सम्पूर्ण बिबरण बुझाउन सवै पालिका भित्रका दलका उमेद्वार तथा स्वतन्त्र उमेद्वारहरुलाई निर्देशन दिएको हो ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिन भित्रमा खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था बमोजिम खर्चको बिबरण बुझाउन निर्देशन दिएको कार्यालयका प्रमुख टेकबहादुर कोइरालाले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम प्रत्येक उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्च बुझाउनु पर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।
खर्च बिबरण बुझाउदा नियमावलीको अनुसुची ३० बमोजिम ढाँचामा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा जिल्लाका स्थानीय तहका उमेद्वारहरुले असार ४ गतेसम्म खर्च बिबरण बुझाईसक्नु पर्नेछ । कार्यालयले सवै भन्दा छिटो मतपरिणाम घोषणा भएको अजिरकोट गाउँपालिका भित्रका उमेद्वार यही जेठ ३१ गते भित्रमा खर्च बिबरण बुझाउनु पर्ने उल्लेख गरेको छ ।
त्यस्तै आरुघाट, भिमसेन थापा र शहिद लखन गाउँपालिका उम्मेदवारले असार १ गतेभित्र, गण्डकी र धार्चे गाउँपालिकाका उम्मेदवारले असार २ भित्र, गोरखा नगरपालिका, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाका उम्मेदवारले असार ३ गते भित्र सम्पूर्ण निर्वाचन खर्च बुझाउनुपर्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा सवैभन्दा ढिलो मतपरिणाम घोषणा भएको पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका उम्मेदवारले भने असार ४ भित्र खर्च बुझाइसक्ने कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो ।