गोरखा १२, जेठ: नेपालको प्रसिद्ध शक्तिपिठको रुपमा चिनिएको गोरखाको गोरखानाथ मन्दिरमा परिषरमा सुरु भएको १९ औ सवा लाख रोट महोत्सव आज सम्पन्न भएको छ । गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै धार्मिक पर्यटन प्रबद्र्धनका लागि गोरखा दरबार परिषरमा महोत्सवको आयोजना गरिएको हो ।
गोरखनाथ मन्दिरमा दैनिक रुपमा रोट चढाउने प्रचलन रहेपनि गएको १९ बर्षदेखि यसलाई महोत्सवकै रुपमा आयोजना गर्ने गरिएकोमा यस बर्ष पनि यहीँ जेठ २ गतेदेखि १२ गतेसम्म महोत्सवको आयोजना गरिएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो । एधार दिनसम्म आयोजित महोत्सवमा सवा लाख रोट गुरु गोरखनाथलाई अर्पण गरिएको उहाँले बताउनुभयो ।
गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्र स्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यता अनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहदै आएको छ । रोट भुङ्ग्रे र तावा गरि दुई प्रकारका हुने उहाँले बताउनुभयो । तत्कालिन नेपाल एकीकरणका समयमा सेनाहरूलाई प्रसादको रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने लामो समयसम्म लडाई लड्न सकेको भन्ने भनाई शिला लेखहरूमा पाइन्छ ।
‘एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो, संयोजक अकेलाले भन्नुभयो, ‘चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।’ सानो सानो आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले शुद्व भई मन्त्र जप गरि विचको भाग उठाएर बनाइएको हुन्छ ।
महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासका टेवा पुगेको आयोजकको भनाई छ । गोरखनाथ गुफा परिसरमा आयोजित महोत्सवमा अबसरमा भजन कृतन, चुडा नृत्य समेतको आयोजना गरिएको उहाँले बताउनुभयो । यस पटकको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहणका लागि ३० हजार भन्दा बढि भक्तजनहरु आएका संयोजक अकेलाले जानकारी दिनुभयो ।
यस पटक महोत्सवमा १ लाख ५४ हजार ६ सय २४ वटा रोट गुरु गोरखनाथलाई अर्पण गरेको संयोजक अकेलाले जानकारी दिनुभयो । बि.स २०७७ र २०७८ सालमा कोरोना महामारीका कारण सामान्य रुपमा मनाईएको महोत्वस यस बर्ष भने भब्य रुपमा मनाइएको हो । प्रारम्भमा विश्व शान्तिको कामना गर्दै सिद्धाश्रम शक्ति केन्द्रले गोरखनाथ गुफामा २०६१ सालदेखि सवालाख रोट महोत्सवको आयोजना गर्न सुरु गरेको हो ।