गोरखा, १२ जेठ । गोरखामा तीन वटा गाँउपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै जिल्लाको बारपाक सुलिकोट, गण्डकी र धार्चे गाँउपालिकाले कार्यपालिका गठन प्रक्रिया सम्पन्न गरेको हो ।
बुधबार बारपाक सुलिकोट गाउँपालिकामा छ सदस्यीय कार्यपालिका निर्विरोध निर्वाचित भएको पालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनु भयो । कार्यपालिका सदस्यहरुमा क्रमश आशिका गुरुङ, जानुका देवी पनेरु, मायादेवी गुरुङ, सन्तकुमारी बराम, राजु सुनार र शुभप्रभात नेपाली निर्विरोध निर्वाचित भएका हुन् । यो संगै बारपाक सुलीकोटमा १६ सदस्यीय कार्यपालिका गठन भएको छ ।
यस्तै गणडकी गाँउपालिकामा पनि बुधबार छ सदस्यीय कार्यपालिका निर्विरोध निर्वाचित भएको पालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताउनु भयो । उहाँका अनुसार सिताराम विश्वकर्मा, तारा परियार, कुन्तिमाया चेपाङ, लक्ष्मी श्रेष्ठ, अमाया रानामगर र लक्ष्मी बाग्दास कार्यपालि सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुले १३ गते निर्वाचन अधिकृतबाट आधिकारी रुपमा प्रमाण पत्र वितरण गर्ने कार्यक्रम राखिएको जनाएको छ । यससंगै गण्डकीमा पनि १६ सदस्यीय कार्यपालिका गठन भएको छ ।
यता धार्चे गाउँपालिकाले पनि १५ सदस्यीय कार्यपालिका गठन गरेको छ । बुधबार जगसिँह घले, मित्रबहादुर सुनार, पासमाया गुरुङ, अनार्दा गुरुङ, देवी सुनार र सुनमाया बिकलाई निर्विरोध कार्यपालिका सदस्य चयन गरेको हो ।