गोरखा, ५ बैशाख। भीमसेन थापा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जनताको आशा र अपेक्षामा तुसारापात हुन नदिन जनप्रतिनिधीहरुले दृढ संकल्प गर्नुपर्ने बताउनु भएको छ । निर्वाचित भएपछि निर्वाचन कार्यालयले आयोजना गरेको प्रमाण पत्र बितरण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बन्जराले भीमसेन थापा गाउँपालिकालाई ग्रेट स्मार्ट, हरियाली, स्वच्छ सम्बृद्ध समाजबाद उन्मुख नमुना गाउँपालिकाको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले संबिधानमा लेखिएको समाजबादको आधार तयार पार्ने गरि गाउँपालिकाको बिकासको मोडल तयार पारेर अब अघि बढ्ने उल्लेख गर्नुभयो । ‘ राजनीतिक दलका हिसावले जो जहाँ भएपनि संबिधानमा लेखिएको समाजबादको आधार तयार पार्ने हामी सवैको एउटै लक्ष्य र उद्देस्य छ, उहाँले भन्नुभयो, सम्बृद्धि नेपाली सुखी नेपालीको लक्ष्य पुरा गर्नुछ ।’ साधारण नागरिकले पनि राज्यको ओत र छाहार पाउने गरी गाउँपालिकाको कार्यक्रम सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्षले बताउनुभयो ।