गोरखा, २४ वैशाख । निर्वाचन कार्यालयले जिल्ला भित्रका सबै पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरुलाई बिहिवारदेखि आज शनिबारसम्म निर्वाचन संचालन तथा ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताउनु भएको छ ।
बिहिवार पालुङ्टार नगरपालिका, धार्चे, चुमनुब्री र गण्डकी गाउँपालिकाका मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको हो । यस्तै शुक्रवार बारपाक सुलिकोट, शहिद लखन, आरुघाट र अजिरकोट गाँउपालिकामा खटिने कर्मचारीलाई तालिम दिइको हो भने आज बाँकी ३ पालिका गोरखा नगरपालिका, भिमसेन थापा र सिरानचोक गाँउपालिकामा खटिने कर्मचारीहरुलाई प्रशिक्षण तालिम दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटिने कर्मचारीले कार्य स्थलमा पालना गर्नुपर्ने नियम, निर्वाचन सामग्री बुझेर लगेपछि गर्नुपर्ने ब्यवस्थापन, ढुवानी ब्यवस्थापन, मतदान प्रक्रिया बारे गराउनुपर्ने जानकारीको बारेमा सिकाइएको कार्यालयका प्रमुख कोईरालाले जानकारी दिनु भयो । मुख्य निर्वाचन अधिकृत दिनबन्धु बराल, प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्य, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला, बिभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृतहरुले सहभागीलाई प्रशिक्षण दिएका थिए ।