काठमाडौं, २४ वैशाख । दोस्रो एकदिवसीय खेलमा नेपालसँग जिम्बावे ‘ए’ ९ विकेटले पराजित भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले जिम्बावेमाथि ९ विकेटको फराकिलो अन्तरको जित हात पारेको हो।
जितसँगै तीन खेलको सिरिजमा १—१ को बराबरी भएको छ। त्रिवि मैदानमा जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले १ विकेट गुमाएर ११.२ ओभरमै पार गर्यो।
नेपालको जितमा ओपनर सुनील धमलाले ३८ रन र आसिफ शेखले नटआउट ३४ रन जोडे। धमलाले ३८ बलमा ६ चौका र आसिफले ३१ बलमा ६ चौका नै हाने। विनोद भण्डारी ४ रनमा अविजित रहेका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमै अलआउट भयो।
उसका लागि जोनाथन काम्पबेलले सबैभन्दा बढी २७ रन जोडे। ब्राड इभान्सले नटआउट २० रन र केफास जुहाओले १० रन जोड्दा अन्य ८ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट।
बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३—३ विकेट लिए। करणले ८ ओभरमा ३ मेडन राख्दा १७ रन दिए भने सोमपाले ७ ओभरमा १६ रन खर्चिए।
कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। उनले ८.५ ओभरमा २६ रन दिए भने १ मेडन राखे।
सागर ढकालले १ विकेट हात पारे। उनले ८ ओभरमा २७ रन दिए। अब निर्णायक तथा अन्तिम एकदिवसीय आगामी सोमबार हुनेछ।