काठमाडौं, २३ वैशाख । सफा हिमाल अभियान २०२२ बाट साढे १३ हजार बढी किलो फोहोर संकलन भएको छ।
नेपाली सेनाले वैशाख २१ गतेसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १३ हजार ७८१ किलो फोहोर संकलन भएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने भन्दै नेपाली सेनाले चैत २२ गतेबाट सफा हिमाल अभियान २०२२ सञ्चालन गरेको थियो।
त्यसअनुसार चार हिमालबाट सो संख्यामा फोहोर संकलन भएको हो।
सगरमाथा र ल्होत्सेबाट ५८२ किलो सड्नेरकुहिने र ४ हजार ३८६ किलो नकुहिने गरी जम्मा ४ हजार ९६८ किलो फोहोर संकलन भएको छ।
कञ्चनजंघाबाट ४१८ किलो कुहिने र ५ हजार ५ सय ३१ किलो नकुहिने गरी जम्मा ५ हजार ९४९ किलो फोहोर संकलन भएको छ।
यस्तै, मनास्लुबाट कुहिने ५१३ किलो र नकुहिने २ हजार ३६८ गरी जम्मा १३ हजार ७८१ किलो फोहोर जम्मा भएको निर्देशनालयले जनाएको छ।