बैतडी, २० वैशाख । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।
सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका उहाँमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । आक्रमण गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनु भयो ।
गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उहाँलाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरी निरीक्षक जोशीले बताएका छन् ।