काठमाडौं, १५ वैशाख । वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वाजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनु भयो ।
त्यस्तै आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल र मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगराउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उहाँले जानकारी दिनु भयो । सो अवधीमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने सहायक प्रवक्ता अर्यालको भनाई छ ।
यसै गरी स्थानीय तह निर्वाचनमा मतदान स्थल र केन्द्र तोकिएका सबै भौतिक संरचना मतदान प्रयोजनका लागि वैशाख २८ गते देखि ३० गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता अर्यालले बताएका छन् ।