गोरखा, १२ वैशाख । नेपाली कांग्रेस गोरखाले जिल्ला भित्रका ९ वटा गाउँपालिका अध्यक्ष र ७ वटा पालिकाको उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । हिजोराती देखि सुरु भएर आज बिहान सकिएको बैठकले गाउँपालिका उम्मेदवारको टुङ्गो लगाएको हो । टुङ्गो लागेको उम्मेदवारहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।
दोहोरिएका मध्य गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ, चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ, सिरानचोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली रहेका छन् ।
यस्तै अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्षमा इन्द्र गुरुङ उम्मेदवार बनेका छन् । यी दुबै नयाँ हुन् । सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई कांग्रेसले टिकट दिएको छ । भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्षमा अमृता वस्तीलाई उम्मेदवार बनाउने कांग्रेस गोरखाले निर्णय गरेको छ । बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् । आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ उम्मेदवार बन्ने भएका छन् ।
यसैगरी शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष टुङ्गीन बाँकी छ ।चुमनुब्री गाउँपालिका उपाध्यक्ष पनि चयन हुन् बाँकी छ । गोरखा र पालुङटार नगरपालिकाकोको भने गण्डकी प्रदेश समिटिले टुङ्गो लगाउने भनेकाले निर्णय आउन बाँकी रहेको कांग्रेस गोरखाले जनाएको छ ।