काठमाडौं, २ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँचो अर्थमा समतामूलक सामाजिक न्यायसहितको सबैको नेपाल बनाउने अभियान सुरु भएको बताउनु भएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विभिन्न पार्टी परित्याग गरेर माओवादीमा लाग्नुलाई सबैको नेपाल बनाउने आन्दोलन भएको टिप्पणी गर्नु भएको छ । उहाँले देशका मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकार माओवादी केन्द्रले लडेर स्थापित गराएको उल्लेख गर्नु हुदैँ त्यसलाई उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध एकजुट हुने प्रक्रिया अघि बढेको समेत बताउनु भएको छ । कार्यक्रममा नुवाकोटका नेकपा (एमाले) का नेता माधव पाण्डेको नेतृत्वमा दर्जनौं नेता, कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट जानु भएको बेला उहाँकै पार्टीका नेता, कार्यकर्ता माओवादीमा प्रवेश गर्नु संयोग पनि भएको अध्यक्ष प्रचण्डको भनाइ छ। ओली शुक्रबार एमाले नुवाकोटले आयोजना गरेको सभामा भाग लिन नुवाकोट पुग्नु भएको हो ।