गोरखा २५, चैत । नेकपा माओबादी केन्द्रले गण्डकी गाउँपालिकामा ४९९ सदस्सीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुट्टारमा बसेको गाउँपार्टी समितिको बिस्तारित बैठकले पार्टीका प्रदेश समितिका सदस्य तथा गाउँपार्टीका समितिका इन्चार्ज दिपक तिमेल्सिना (साकार) को नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
त्यस्तै बैठकले पार्टी नेता तुलसी रेग्मीको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ । निर्वाचनका लागि पालिका भित्रका प्रत्येक बुथमा कार्यकर्ता केन्द्रित गर्ने उद्देस्यका साथ एक बुथ, सय युथको अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको सो पार्टीले जनाएको छ । त्यस्तै निर्वाचनका बेला पार्टीका तर्फबाट घोषणा पत्र निर्माण गर्न इन्जार्ज तिमेल्सिनाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति समेत गठन गरेको छ ।
बैठकले पालिका स्तरीय आर्थिक समिति लगायतका अन्य बिभिन्न समिति गठन गर्दै पार्टीका जनवर्गिय संगठन, भातृसंगठन तथा जातिय मोर्चाहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय समेत गरेको जनाएको छ ।
बैठकलाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य अमर तमुले गण्डकी गाउँपालिकामा बनेको सांगठनिक अबस्थाबाट अघिल्लो निर्वाचनमा भएका कमीकमजोरीलाई सच्याएर जीतको नतिजा निकाल्न पालिका पार्टी समिति आतुर देखिएको बताउनुभयो । बैठक नेकपा गाउँपार्टी समितिका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा सम्पन्न भएको हो ।