गोरखा, ४ चैत : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भुकम्पले क्षती पु¥याएका गोरखाको लाप्राक र बारपाक लगायतका क्षेत्रको बिकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । एकिकृत समाजबादी पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुदै पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नती, स्वस्थ्य खानेपानी तथा बिजुली पहुँच पु¥याउनका सम्बन्धित निकाय मार्फत पहल गर्ने बताउनु भएको हो ।
लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकहरुको गुनासो गरेपछि उहाँले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिनुभएको हो । ‘लाप्राकसम्म पुग्नका लागि सडकमा ढल निर्माण, बाटो निर्माणको काम त भइरहेको छ, उहाँले भन्नुभयो, यसलाई अझै गति दिनुपर्ने आबश्यकता छ ।’ उहाँले लाप्राकसम्म नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटो भन्दा छिटो गर्नुपर्ने बताउनुभयो ।
बिकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोडदिनुभयो । ‘बिकासका लागि सरकार र मन्त्रीहरुलाई धचधच्याउने काम मेरो हो, उहाँले भन्नुभयो, तपाईहरु पनि लाग्नुस, सामुहिकतामा काम गर्न सकियो भने बिकास सजिलै हुनसक्छ ।’ पूर्वप्रधानमन्त्री नेपालले बाटोको सुबिधा राम्रो भएमात्र लाप्राकको नुमनाबस्ती हेर्नका लागि आउने पर्यटकहरुलाई आर्कषण गर्न सकिने बताउनुभयो ।
भौगोलिक हिसावले लाप्राकको प्राकृतिक सुन्दरता र मनोरम दृष्यका कारण यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि समस्या नहुने भन्दै आन्तरिक तथा बाह्य पर्यटकको लाप्राकसम्म आइपुग्ने वातावरण बनाउनका लागि कालोपत्रे सडक निर्माणको कामलाई प्राथामिकता दिनुपर्नेमा जोडदिनुभयो ।
उहाँले जनताले सोचे जस्तो चाहे जस्तो सवैथोक नभएपनि हुदै नभएको भन्ने कुरा सत्य नभएको बताउनुभयो । जनताका आवश्यकता परिपूर्तीका धेरै अझै धेरै काम गर्न बाँकी रहेको पूर्वप्रधानमन्त्री नेपालको भनाई छ । उहाँले आफूले उपप्रधानमन्त्री भएका समयमा २०५१ सालमा ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने अभियान सुरु गरेको भन्दै त्यति बेला ३ लाख रुपैयाबाट सुरु गरेको बजेट अहिले वडाहरुमा करोडौ पुग्न थालेको बताउनुभयो ।