काठमाण्डौ २५, असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा आफुले पाउनुपर्ने दावी गरेको छ । सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा एमाले सांसदहरूले सार्वजनिक लेखा समितिको सभापति आफुहरुले पाउनुपर्ने बताएका छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमै काँग्रेसले सार्वजनिक लेखा समितिको जिम्मेवारी पाएको थियो तर अब एमालेका सांसदहरूले सार्वजनिक लेखा समितिको सभापती एमालेबाट हुनुपर्ने माग गरेका हुन् । अहिले समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद भरतकुमार शाह रहनुभएको छ । समितिको बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसदीय परम्परा र नेपालको अभ्यास बमोजिम लेखा समितिका सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।
सांसद बास्कोटाले लोकतन्त्रको सकारात्मक पक्षको कदर गर्दै समितिका सभापति शाहले राजीनामा दिनुपर्ने बताउनुभयो । सांसद राजेन्द्र गौतमले पनि संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने बताउनुभयो ।