काठमाण्डौं ४, असोज । बुढीगण्डकी जलविद्युत आयोजनाका डुबानपीडितले ११ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेका छन् । ९ वर्ष बितिसक्दा पनि आयोजनाको काम सुरु नभएकाले तत्काल काम सुरु गर्न र मुआब्जा सम्बन्धी विवाद समाधान गर्न दबाब दिँदै डुबानपीडित आजदेखि काठामाडौंको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका हुन् ।
घरगोठ, संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण तथा वितरण गर्नुपर्ने, मुआब्जा पाउनुपर्ने जग्गाको तत्काल मुआब्जा वितरण गर्नुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निणर्यानुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिनुपर्ने लगायतका ११ बुँदे माग आयोजना पीडितले अघि सारेका छन् । माइतीघर मण्डलामा अबको ७ दिन १२ बजेदेखि दिउँसो ३ बजेसम्म गर्ने समितिका अध्यक्ष हरेराम ढकालले बताउनुभयो ।
आज पहिलो दिन दर्बुङ गाउँपालिकाका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् भने भोलि जोगिटार, माझीटार, सलाङ र घ्यालचोकका डुवानपीडितले धर्ना दिनेछन् । ६ असोजमा भने फुजेल, नामजुङ, मजुवा, पिपलटार, कालिमाटी र खरीका पीडितले धर्ना दिने कार्यक्रम छ ।
त्यस्तैगरी ७ असोजमा बोर्लाङ, बुङ्कोट, सल्यानटार, चैनपुर र खहरे, ८ असोजमा बालुवाटार, तान्द्राङ र ज्यामरुङ, ९ असोजमा पेट्रोलियम पदार्थमा कर तिर्ने सबै नेपाली र १० असोजमा आरुघाट, मंगलटार, शान्ति बजार, आर्खेत, मुलपानी, बसेरी, बुढाथुम र आगिञ्चोकका पीडित धर्नामा सहभागी हुने छन् ।