गोरखा २०, भदौ । काग्रेस पार्टी परित्यागको घोषणा गर्नुभएकी गोरखाको भीमसेन थापा गाउँपालिका उपप्रमुख बिनु वाग्लेले आफु फेरि काग्रेसमा फर्किएको घोषणा गर्नुृभएको छ । शुक्रबार राती सामाजिक सञ्जाल मार्फत काग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएकी काग्रेस नेतृ वाग्ले फेरि आइतबार बिहान सामाजिक सञ्जालमा नै स्टाटस लेखेर काग्रेसको फर्किएको बताउनु भएको हो ।
पार्टीभित्रैका केही व्यक्तिहरूले मेरा बिरुद्ध गरेको षडयन्त्रको कारण पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको थिएँ, उहाँले लेख्नु भएको छ, तर पार्टीभित्रकै थुप्रै अग्रज नेतृत्वहरू, शुभचिन्तकहरू, मतदाताहरू तथा सहकर्मीहरूको सल्लाह, सुझाव तथा उत्प्रेरणाले त्यस्ता षडयन्त्रको बिरुद्ध पार्टीभित्रबाटै संघर्ष गर्दै नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक समाजवादप्रतिको निष्ठालाई अझ बलियो बनाउन ईमान्दारीताका साथ लाग्ने प्रण गरेको छु ।
उपप्रमुख वाग्लेले आफु माथि सद्भाव राख्नुहुने सम्पूर्ण अग्रज नेतृत्वहरू, शुभचिन्तकहरू, मतदाताहरू तथा सहकर्मीहरू हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ । शुक्रबार काग्रेसको वडा स्तरीय अधिबेशनका क्रममा आफुलाई काग्रेसका नेता राजेन्द्र बजगाई सहित निर्वाचन अधिकृत पूर्ण गुरुङको मिलोमतोमा आफ्नो नाम हटाएर अरुलाई निर्विरोध गरेको आरोप लगाउदै काग्रेस पाटी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।
आफुलाई शेरबहादुर देउवाको मान्छेको भएको आरोप लगाएर उहाँहरुले क्षेत्रिय प्रतिनिधि हुन रोकेको आरोप नेतृ वाग्लेले लगाउनु भएको थियो ।
