काठमाण्डौं १६, भदौं । बानेश्वरकी २५ वर्षीया टीका दाहाललाई महिनावारी अघि र पछि कहिलेकाहीं गुप्तांग चिलाउने र पोल्ने समस्या हुन्थ्यो । भदौ पहिलो साता एक्कासि दुखाइ बढ्यो । बिहान उठ्दा गुप्तांग सुन्निएको थियो । योनिको भित्री भाग च्यातिएको र दायाँपट्टि सुन्निएर लत्रिएको देखिन् ।
‘कसरी यस्तो भयो, ठूलै रोग लाग्यो कि भनेर बेस्सरी डराएँ,’ उनले भनिन् । त्यसपछि गुगल र युट्युबमा समस्याबारे खोजिन् । आफ्नो लक्षणसँग मिल्दो समस्या पत्ता लगाइन्, जसलाई ‘लेबिया माइनोरा’ भनिने रहेछ । यसका विभिन्न आकारबारे अध्ययन गरिन् । त्यसमध्येको एउटा आकार योनिको एक छेउ अर्कोभन्दा लामो हुने रहेछ । र, लेबिया मेजोराको अलिकति तल झुन्डिएको हुन्छ ।
२०७७ चैतमा प्रकाशित ‘एम्नियोन ग्राफ्ट भजाइनोप्लास्टी इन भजाइनल एजेनेसिस’ को केस रिपोर्ट पनि उनले भेट्टाइन् । यसमा उनकै जस्तो समस्या लिएर काठमाडौं मोडेल अस्पतालमा उपचार गर्न पुगेकी नुवाकोटकी १९ वर्षीया किशोरीको समस्याबारे पढिन् । रिपोर्ट पढिसक्दा समग्र महिलाले आफ्नो जीवनकालमा कस्ता–कस्ता समस्या भोग्ने रहेछन् भन्ने थाहा पाइन् । तैपनि मनबाट डर हटेको थिएन ।
आफ्नो समस्याबारे थोरै भए पनि जानकारी लिएपछि भोलिपल्ट उनले चिनेकै एक जना जनस्वास्थ्यविद् महिलालाई फोन लगाइन् । जनस्वास्थ्यविद्ले सामान्य अवस्था भएकाले नडराउन ढाडस दिइन् । दुखाइ कम गर्न मनतातो पानीमा अलिकति नुन र तीतेपाती राखेर सेकाउन सल्लाह दिइन् ।
दुई दिन यो विधि अपनाएर निको नभए स्त्रीरोग विशेषज्ञ सिफारिस गरिदिने वचन पाएपछि टीका ढुक्क भइन् । त्यसपछि चार लिटरजति पानी मनतातो बनाइन् । फराकिलो भाँडोमा खन्याएर अलिकति नुन मिसाइन् अनि १५ मिनेटजति गुप्तांग डुब्ने गरी बाटामा बसिन् । आराम महसुस भएपछि उनले सुत्ने बेला यही विधि अपनाउन थालिन् । ‘बिहान–बेलुकी यो विधि अपनाउँदा दोस्रो दिन दुखाइ पूरै निको भयो,’ उनले भनिन्, ‘ठूलै पीडाबाट मुक्ति पाएझैं राहत महसुस भयो, घरायसी उपचार विधिले मलाई झन् सजिलो बनायो ।’
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाकी डा। पुण्या पौडेलका अनुसार सबैजसो महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै बेला गुप्तांगमा संक्रमणको समस्या झेल्छन् । महिनावारीमा सफाइ नपुग्दा, धेरै जनासँग यौन सम्बन्ध राख्दा, अधिक तनावले गर्दा पनि गुप्तांगमा संक्रमण हुने गर्छ ।
शौचालय सफा नहुँदा आफूले स्कुल जीवनमा यस्तै समस्या भोग्नुपरेको २६ वर्षकी युवतीको अनुभव छ । उनी त्यतिबेला १६ वर्षकी थिइन् । दिनभरमा चार पटकजति शौचालय जानुपर्थ्यो तर उनी पढेको गाउँको स्कुलको शौचालयमा पानी थिएन । महिनावारी भएका बेला सबैभन्दा धेरै सकस पर्थ्यो । स्कुल नजिकैका होटलमा २० रुपैयाँको खाजा खाने निहुँ बनाएर शौचालय छिर्थिन् । दुर्गन्धित र फोहोर शौचालय प्रयोग गर्न थालेको एक वर्षपछि गुप्तांग चिलाउने भयो । उनले आफन्त पर्ने नर्सलाई समस्या राखिन् । ‘शौचालयमा पानी नभएकाले खासगरी महिनावारीको बेलामा सफाइ नपुगेर त्यो समस्या भएको उनीबाट थाहा पाएँ,’ उनले सुनाइन् ।
२०७५ चैतमा प्रकाशित नेपाल मेडिकल कलेजको जर्नलका लागि गरिएको सर्वेक्षणमा ८२।६७ प्रतिशत महिलाले चिलाउने समस्या भएको बताएका थिए । ३२ प्रतिशतले रातोपना, २६।६७ प्रतिशतले गुप्तांगमा पोल्ने, २४र२४ प्रतिशतले दुखाइ र सेतोपनाको समस्या बताएका थिए । २० महिना लगाएर गरिएको सर्वेक्षणमा काठमाडौं र बाहिरका ७५ जना महिला सहभागी थिए । जसमध्ये ५० प्रतिशतभन्दा बढी गृहिणी थिए । संयुक्त रूपमा लेखिएको उक्त लेखकी प्रमुख शोधकर्ता छाला तथा यौन रोग विशेषज्ञ डा। स्मिता जोशीका अनुसार गुप्तांग चिलाउँदा, दुख्दा, पोल्दा वा घाउ आउँदा धेरैजसोले यौन रोग नै भन्ठान्छन् । छालाका अन्य समस्या वा सरसफाइमा ध्यान नपुर्याएका कारण पनि यस्तो समस्या देखिन्छ ।
‘ठूलो समस्या नभए पनि यौनांगमा संक्रमणबारे महिलाहरूले खुलेर समस्या राख्दैनन् । यसले दिनचर्यामा निकै असर गरेको हुन्छ,’ उनले भनिन्, ‘महत्त्वपूर्ण सवाल हुँदाहुँदै पनि स्वास्थ्यको क्षेत्रमा यसबारे खासै बहस हुँदैन, त्यसमा सबैको ध्यानाकर्षण गराउन सर्वेक्षण गरेका हौं ।’
डा। अरुणा उप्रेतीका अनुसार गुप्तांगमा संक्रमण हुन नदिन दिनदिनै नुहाउने, भित्री वस्त्र सुतीको प्रयोग गर्ने र दिनदिनै फेर्ने, सातामा एक पटक निम, तीतेपाती वा नुनपानीले गुप्तांग धुने गर्नुपर्छ । ‘यस्तो घरायसी विधिले निको नभएमा चिकित्सकलाई देखाउनुपर्छ,’ उनले भनिन्, ‘महिनावारीको समयमा प्याडको रूपमा लुगाका टुक्रा प्रयोग गर्नु हुँदैन । कस्सिएका जिन्स पाइन्ट लगाउनु हुन्न ।’
अधिक तनावले प्रतिरक्षा प्रणाली कमजोर बनाउने भएकाले यसको असर महिलाको संवेदनशील अंगमा पुग्ने डा। पौडेलको भनाइ छ । ‘हामी जसरी बाहिरी अंगको सफाइ गर्छौं, गोप्य अंगलाई अझ बढी सफा राख्नुपर्छ,’ उनले भनिन्, ‘समस्या देखिनेबित्तिकै स्वास्थ्यकर्मी, स्वयंसेविकाबाट सल्लाह लिनुपर्छ । रोग लुकाउनु हुन्न तर हाम्रो समाजमा महिलाहरू यस्तो समस्या भन्न लजाउँछन् । अन्तिम अवस्थामा पुगेपछि मात्रै थाहा दिइन्छ, त्यतिन्जेलमा संक्रमणले ठूलो रोगको रूप लिइसकेको हुन्छ ।’ कान्तिपुरबाट