काठमाण्डौं ३२, साउन । विपद् विज्ञहरुले सिन्धुपाल्चोकको मेलम्ची–इन्द्रावती तल्लो तटीय क्षेत्रमा अझै पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै चेतावनी दिएको छन् । खानी तथा भूगर्भ विभागका विज्ञ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गएका विज्ञहरुले भेमाथाङ क्षेत्रमा १५ लाख टिपर बराबरको ढुंगा, माटो, बालुवा, रूखबिरुवा बाँकी रहेको र त्यसभन्दा माथि पनि दर्जनौं पहिरो रहेकाले वर्षा भए तल्लो तटीय क्षेत्रमा कुनै पनि बेला भेलबाढी आएर फेरि ठूलो क्षति निम्तिन सक्ने चेतावनी दिएका छन् ।
असार १ र साउन १६ मा भेमाथाङबाट बगेर आएको थिग्रेनी र भेलबाढीले मेलम्चीसम्मै क्षति गरेपछि विज्ञहरुको टोली भेमाथाङभन्दा माथिल्लो क्षेत्रको भौगोलिक अवस्था अध्ययन गरेको थियो ।
भेमाथाङ र त्यसभन्दा माथिको पेम्दाङ र मेलम्ची खोला क्षेत्रको स्थलगत अध्ययनपछि फर्किएका विज्ञहरूले माथिल्लो क्षेत्र (भेमाथाङ र त्यसमाथि) जम्मा भएर बसेको थिग्रेनीले अझै तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने सम्भावना बाँकी रहेको भन्दै सतर्कता अपनाउन सुझाएका हुन् ।