काठमाण्डौं ३१, साउन । नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने छ ।
हिजोको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आज बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले उपमहासचिव पद हट्ने र कोषाध्यक्ष पद थप गरिने जानकारी दिनुभयो ।
नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताउनुभयो ।