गोरखा ३०, साउन । नेकपा एमालेले गण्डकी प्रदेशमा छाँया सरकार बनाएको छ । दुई महिना अघि पार्टी संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि सरकारको काम कारवाहीको निगरानी गर्न भन्दै एमालेले छाँया सरकार बनाएको हो । संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशका ११ मन्त्रालय हेर्ने गरी ९ संसदीय समूह बनाएको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो । ए
मालेले बनाएको छाँया सरकारमा गोरखाबाट प्रदेश सभामा निर्वाचित प्रदेशसभा सांसद पूर्वमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक जिम्मा पाउनु भएको छ। सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहनुभएको छ ।कानून, सूचना सञ्चार, प्रदेश मामिला समूह संयोजकमा चन्द्रमोहन गौचन चयन हुनुभएको छ भने सदस्यमा पुष्पा केसी भण्डारी रहनभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहनप्रसाद रेग्मी रहनु भएको छ भने सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ रहनु भएको छ । त्यस्तै ईन्द्रलाल सापकोटाको नेतृत्वमा कृष्णबहादुर थापा सदस्य रहने गरी अर्थ समूह गठन गरिएको छ । सामाजिक विकास समूहमा नरदेवी पुनमगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र ईन्द्रधारा विष्ट सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण समूह संयोजकमा पूर्व मन्त्री विकास लम्साल सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ, सदस्यमा मनबहादुर गुरुङ, महेन्द्र काली रहनुभएको छ ।
त्यस्तै ऊर्जा, खानेपानी समूह संयोजकमा मीनप्रसाद गुरुङ, सदस्यमा धनञ्जय दवाडी, स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकमा सांसद राजीव पहारी, सदस्यमा जूनादेवी नेपाली र सावित्रा रानामगर रहनुभएको छ ।