Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इन्टरनेटको शुल्क घट्ने


1.8K
Shares

इन्टरनेटको शुल्क घट्ने

काठमाण्डौ २९ साउन । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिनुभयो ।

“मोवाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।” एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उहाँको भनाइ छ । उहाँले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने बताउँदै उहाँले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्नेतर्क गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो ।

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जित्नु भएको छ । उहाँको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम भई रु एक लाखको राशिको पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय बङ्गलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरका कक्षा १० का ऋदम भेटवाल जित्नुभएको छ । उहाँहरूले नगद रु ५० हजार पाउनु भएको छ ।

यस्तै तृतीय मनकामना माध्यमिक विद्यालय विर्तामोड, झापाका असिम डङ्गोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौँका उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंका विशेषता चौधरी हुनुभएको छ । उहाँहरूले नगद रु २५ हजारको पुरस्कार जित्नु भएको छ । लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बन्द कोठाभित्र रहेका विद्यार्थीलाई भोलीको समृद्ध नेपाल बनाउनका लागि सोच्न, अध्ययन गर्न र सरकार तथा सरोकारवालालाई जगाउन ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ सहयोग गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology