Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका वडाध्यक्षहरुले वडामै खाता सञ्चालनको माग गर्दै मूख्यमन्त्रिलाई बुझाए ज्ञापन पत्र


7.5K
Shares

गोरखाका वडाध्यक्षहरुले वडामै खाता सञ्चालनको माग गर्दै मूख्यमन्त्रिलाई बुझाए ज्ञापन पत्र

गोरखा, २९ साउन :  गोरखाका स्थानीय तहका वडाध्यक्षहरुले वडा तहमा खाता सञ्चालनको माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र पोखरेललाई आज ज्ञापन पत्र बुझाएका छन् । गोरखा नगरपालिका भित्रका बिभिन्न ८ वडाका वडाध्यक्षहरुले मुख्यमन्त्रि पोखरेललाई भेटेर वडा तहमा खाता सञ्चालनको माग गरेका हुन् ।

बिगतमा गा.वि.स कार्यालय हुँदा समेत वडा स्तरमै खाता सञ्चालन भई जनताले वडाबाट नै सुबिधा पाउने गरेको भएपनि अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको संघिय संरचना हँुदा झनै अधिकार कटौती भएको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराइएको गोरखा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुुर खड्काले जानकारी दिनुभयो ।

‘वडा–वडामा सञ्चालित बिकास निर्माणका योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन भइ काम भइरहेको छन्, उहाँले भन्नुभयो, तर उपभोत्ता समितिका पदाधिकारी र सदस्यहरु योजना भुक्तानीको चेक बुझ्न ४÷५ दिन लगायर नगरपालिका र गाउँपालिका केन्द्रमा धाउनु पर्ने बाध्यता छ ।’ उहाँले सानो सानो योजनाका रकम बुझ्न समेत स्थानीय तहको केन्द्रसम्म धाउनुपर्ने बाध्यताका कारण निर्वाचित जनप्रतिनिधि र स्थानीय जनताले सिंहदरबारको अधिकारी गाउँगाउँमा पाउन नसकेको अनुभुति गरिरहेको बताउनुभयो ।

‘प्रतिनिधिहरुले जनतालाई सेवा सुबिधा दिने हो असुबिधा होइन, उहाँले भन्नुभयो, वडा तहमा खाता सञ्चालन नहुँदा नागरिकहरुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता रहेकाले मुख्यमन्त्रीलाई भेटेर प्रदेश सरकारको ध्यानकर्षण गराइएको हो ।’ वडा तहबाट सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स खर्च तथा अति बिपन्न गरिब दलित परिवारलाई तत्काल आर्थिक सहयोग गर्नबाट समेत वडा कार्यालय बन्चित हुदै आएको मुख्यमन्त्रिलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा गण्डकी प्रदेश भित्रका केही स्थानीय तहहरुमा वडा तहमा खाता सञ्चालन भएको भन्दै गोरखाका स्थानीय तहहरुमा पनि वडा तहमा खाता सञ्चालन गर्न माग गरिएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐनमा वडालाई अख्तियारी दिने उल्लेख छ, तर खाता सञ्चालन छैन, मुख्यमन्त्रि पोखरेललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, कुनै स्थानीय तहको वडामा खाता सञ्चालन हुने कुनैमा नहुने कस्तो संघियता हो ।’

वडाध्यक्षहरुले वडामा दरबन्दी अनुसारको कर्मचारी नहुदा समेत सेवा प्रवाहमा समस्या हुदै आएको जानकारी मुख्यमन्त्रि पोखरेलललाई गराएका छन् । सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न एक जना कर्मचारी लिएर वडा कार्यालयबाट सेवा दिन असाध्यै मुस्किल भइरहेको छ, ज्ञापन पत्रमा भनिएको छ, दरबन्दी अनुसारको कर्मचारी को व्यवस्था सहित यसै आर्थिक बर्षदेखि खाता सञ्चालन गर्ने आबश्यक व्यवस्था मिलाई दिन माग गर्दछौ ।’

ज्ञापन पत्र बुझाउन गोरखा नगरपालिका भित्रका बिभिन्न दलबाट निर्वाचित वडाध्यक्षहरु मुख्यमन्त्रिलाई भेट्न पुगेको थिए । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्रि पोखरेलले प्रदेश तहमा कानुनी तहमा समस्या भए सुल्झाएर जान प्रदेश सरकार तयार रहेको बताउनुभयो । ‘वडाध्यक्षहरु जनताको सेवामा दिनरात खट्नु पर्ने बाध्यता रहेको छ, उहाँले भन्नुभयो,‘ समस्या कहाँ छ त्यसको अध्ययन गरि समाधान गर्ने तर्फ प्रदेश सरकार लाग्नेछ ।’

मुख्यमन्त्रिसंगको भेटमा गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खोपबहादुर अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष हिक्मतबहादुर कुँवर, वडा नम्बर १२ का वडाध्यक्ष डिलबहादुर थापा, वडा नम्बर १३ का बडाध्यक्ष हरिबहादुर खनाल, वडा नम्बर ७ का वडाध्यक्ष बिष्णुप्रसाद श्रेष्ठ, वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्का, वडा नम्बर १० का वडाध्यक्ष देवीबहादुर बस्नेत र वडा नम्बर ३ का वडाध्यक्ष रामबाबु बोगटी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology