काठमाण्डौं २४, साउन । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाउनुभएको छ । सिन्धुपाल्चोकलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरे पनि त्यस अनुसारको काममा तीव्रता दिन नसकेको उहाँको भनाइ छ ।
आज बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरु सँगको भेटमा अध्यक्ष प्रचण्डले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेपनि त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि नबढाएको बताउनुभयो ।
प्रचण्डले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।