काठमाण्डौं २२, साउन । सत्ताररूढ गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । गठबन्धनको कार्यदलले सरकारका प्राथमिकता सहितका कार्यक्रम तयार पारेर शिर्ष नेताहरुलाइ बुझाएको हो । प्रतिवेदन अनुसार अब कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, आगामी असोज सम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्त सम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशूल्क खोपको व्यवस्था गर्ने नीति सरकारले लिएको छ ।
स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन र प्रोत्साहन भत्ता उपलब्ध गराउने, खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने नीति लिइने उल्लेख छ । राष्ट्रिय हितको सम्बर्धन, देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको जीऊधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीति आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने बिषय प्राथमितामा हुने नीतिमा उल्लेख छ ।
सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको बिषय प्राथमितामा छ । प्रतिबेदनका अनुसार सरकारले संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने गरि काम गर्ने छ । यस्तै, जनताको समृद्धिका लागि राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अबलम्बन गर्ने, आपसी संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने प्रतिबेदनमा भनिएको छ ।