काठमाण्डौं १९, साउन । राज्यमन्त्री स्तरीय सरुवाको निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिनुभएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेपछि प्रधानमन्त्री देउवाले त्यसलाई बदर गरिदिनु भएको हो ।
प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठले सरुवा गर्नुभएको सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानेर रिता जोशीलाई डा. लालको ठाउँमा पठाउने निर्णयलाई तत्काल उल्ट्याई दिनुभएको स्रोतले जनाएको छ ।‘सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसक्नु भएको छ, स्रोतले भन्यो, स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै विवादमा तानिएका श्रेष्ठको सरुवाको निर्णयबाट प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न ।’