काठमाण्डौ ८, साउन । हृदयघात भएका बिरामीको उपचारमा लापरवाही गरेको भन्दै चिकित्सक माथि कारवाही गरिएको छ । नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरवाही भई मत्यु भएको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले मुटुरोग विशेषज्ञ डा.ऋषि खत्रीलाई कारबाही गरेको हो ।
क्याप्टेन राणाको २०७७ मसिंर १० गते हृदयघातका कारण मृत्यु भएको थियो । मंसिर ९ गते राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको भोलिपल्ट उहाँको मृत्यु भएको थियो।राणाको उपचारमा संलग्न डा।. खत्री र नागरिक उड्डयन प्राधिकरणका नागरिक उड्डयन चिकित्सा निर्धारक डा.राजीवकुमार देउविरुद्ध उजुरी गरिएको थियो । क्याप्टेन राणाकी श्रीमती पुष्पा राणाले गत चैत ४ गते मेडिकल काउन्सिलमा उजुरी दिनुभएको थियो ।
छानबिनपछि उपचारमा लापरवाही देखिएको ठहर गर्दै काउन्सिलले डा।. खत्रीमाथि कारबाही गरेको हो । काउन्सिलले यही साउन ४ गते उजुरीकर्ता पुष्पा राणालाई पत्र लेखी चिकित्सकमाथि कारबाही गरेको जानकारी दिएको छ । चिकित्सक विरुद्धमा परेको उजुरी सम्बन्धमा छानबिन हुँदा निजले चिकित्सकीय लापरवाही गरेको देखिएको काउन्सिलले पठाएको पत्रमा भनिएको छ ।
डा. खत्रीलाई सूचना जारी भएको मितिले १ वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय भएको काउन्सिलले जनाएको छ । एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ ।