गोरखा ७ साउन । नेकपा माओबादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुङग्याएको छ । प्रदेश सरकारको नेतृत्व गरेका नेपाली काग्रेससंग मन्त्रालय भागबण्डामा सहमति भएसंगै माओबादी केन्द्रले प्रदेश मन्त्रिमण्डलमा पठाउने मन्त्रिहरुको नामावली पनि टुङ्गो लगाएको माओबादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिनुभयो ।
माओबादीले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटाएको उहाँले बताउनुभयो । माओबादी केन्द्रबाट यस अघि नै मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसक्नु भएको छ ।
माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुनुहुन्छ ।