काठमाण्डौं ७, साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो उपाध्यक्ष दिन तयार रहेको सार्वजनिक गरे लगत्तै बरिष्ठ नेता माधबकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताउनु भएको छ । आज ४३औं पुष्पलाल स्मृति दिवसका चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुने भन्दै कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुने बताउनु भयो ।
बरिष्ठ नेता नेपालले चुनौैतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको टिप्पणी गर्दै भन्नुभयो, आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न। तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन ।”
नेता नेपाललले अध्यक्ष ओलीतिर संकेत गर्दै अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने कडा टिप्पणी समेत गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीलगायत २२ जना सांसदलाई कारबाही गर्न बुधबार स्पष्टीकरण पत्र पठाउनु भएको छ। यसअघि पनि नेपाललाई दुई पटक स्पष्टीकरण सोधिएको थियो भने एक पटक पार्टीबाट निकालिएको घोषणा गरिएको थियो।