काठमाण्डौं ३, साउन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गोरखा सहित गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी बर्षको सम्भावना रहेको जनाएको छ । अहिले बिहान विहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा हल्कादेखि मध्यम खालको बर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आजराति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद् निराजन सापकोटाले आग्रह गर्नुभएको छ ।