काठमाडौँ, २२ असार । नेपाल आयल निगमले खाना पकाउने ग्याँस सहित पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरि निगमले पेट्रोल तथा डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसमा मूल्य बढाएका हो । निगमले पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैया बृद्धि गरेको छ । अब पेट्रोलको मुल्य प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ ।
निगमले मंगलबार राती १२ बजे देखि लागु हुने गरि पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर बृद्धि भइरहेको हुँदा स्वचालित मुल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मुल्य बृद्धि गरेको निगमले जनाएको छ ।
मुल्य बृद्धि गरेपछि पेट्रोलको प्रतिलिटर १ सय २९ रुपैयाँ पुगेको छ भने डिजेल १ सय १२ रुपैयाँ पुगेको छ । यसैगरी निगमका अनुसार हवाई इन्धन आन्तरिक उडानमा प्रति किलो लिटर २ रुपैयाँ बृद्धि गरी ८४ रुपैयाँ पु¥याएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर १९ ले बृद्धि गरि नयाँ विक्री मुल्य अमेरीकी डलर ७ सय ५४ प्रति किलो लिटर कायम गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यले जानकारी गराएको छ । खाना पकाउने ग्यास एल पी ग्याँस प्रति सिलिण्डर २५ रुपैयाँ बृद्धि गरी नयाँ विक्री मुल्य १४ सय १५ रुपैयाँ पुगेको छ ।