काठमाण्डौं १८, असार । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापति पदका तीन आकाङ्क्षी नेताले केन्द्रीय सदस्यहरूसँग गर्ने भनेको छलफल स्थगित भएको छ । सभापतिका आकाङ्क्षी नेताहरु विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूसँग आज छलफल गर्ने तयारी थियो ।
तर क्रियाशील सदस्यको विषय नटुङ्गिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी अनि पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले पूर्व निर्धारित कार्यक्रम स्थगित भएको नेता सिंहले बताउनुभयो ।
चाक्सीबारीस्थित नेता सिंहको निवासमा हिजो बसेको तीन नेताबीचको छलफलले आज केन्द्रीस सदस्यहरूसँग छलफल गर्ने निस्कर्ष निकालेको थियो ।