काठमाण्डौ १८, असार । सरकारले अघिल्लो वर्षको मनसुनजन्य विपदबाट प्रभावित २० जिल्लाका ३ हजार ९ सय ४९ निजी आवास पुननिर्माणका लागि १९ करोड ९७ लाखभन्दा धेरै रकम निकासा गरेको छ । हिजोसम्म २० जिल्लामा संघीय सरकारको तर्फबाट पठाउनु पर्ने रकम पठाइसकिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी कालिकोटमा ९ सय ४७ निजी आवास निर्माणका लागि ४ करोड ९ लाख ९८ हजार ७ सय ५० रुपैयाँ पठाइएको प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । त्यसपछि बागलुङका ५ सय ४ निजी आवास निर्माणका लागि २ करोड ३४ लाख ८२ हजार ५ सय रुपैयाँ निकासा गरिएको उहाँको भनाइ छ ।
स्याङ्जाका २ सय ७४, लमजुङ्गका २ सय ४८, स्याङ्जा र तनहुँका २ सय ४७, बाजुराका २ सय १७, कास्कीका एक सय ९७, धनकुटाको एक सय ८१, मकवानपुरका एक सय ५० निजी आवासका लागि रकम पठाएको छ । सिन्धुपाल्चोक लगायतका जिल्लाहरुबाट लाभग्राहीको अन्तिम सूची प्राप्त भइनसकेका कारण रकम पठाउन ढिलाइ भइरहेको प्राधिकरणले जनाएको छ ।