गोरखा २८, जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोचा स्वतन्त्रका दिपक मनाङगे सहितले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासकोम त प्राप्त गर्न नसकी पदमुक्त भएसँगै प्रदेशप्रमुखले संविधानको धारा १६८(५) अनुसार भोलि दिनको ३ बजेसम्म प्रदेश सभाका कुनै पनि सदस्यलाई बहुमतको आधारमा सरकार दावी गर्न समय दिनुभएको छ । सोही आधारमा कांग्रेसका कृष्णचन्दै नेपाली आजै बहुमत सांसदको हस्ताक्षर र शसरीर उपस्थित भएर मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।
को हुन् त पोखरेल ?
गोवद्र्धन शर्मा र दौर्पदा शर्माको कोखबाट २००६ साल मंसिर १३ गते कृष्णचन्द्र नेपाली पोखरेलको जन्म भएको हो । उहाँ परिवारमा माइला छोरा हुनुहुन्छ । जेठा दाजु रामचन्द्र पोखरेल जिल्ला विकास समिति तनहुँ पूर्व सभापति हुनुहुन्थ्यो। उहाँले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि प्राप्त गर्नुभयो । साइँला भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष हुनुहन्थ्यो । उहाँका कान्छा भाइ अमेरिका बस्दै आउनु भएको छ ।
बाबु गोवद्र्धन नै राणा शासनको विरोधमा नेपाली कांग्रेसमा लागेर जहिल्यै क्रियाशील रहनुभएको थियो । बाबु पनि केन्द्रीय सदस्य समेत हुनुभयो । ७१ वर्षे कृष्णचन्द्रले तनहुँमा जन्मेर विद्यार्थी राजनीति पनि त्यहीबाट सुरु गनुभयो ।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बन्नुभयो कृष्णचन्द्र । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उहाँ पटकपटक गरि ६ पटक जेल पर्नुभयो । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुई पटक गरेर ५ महिना बिताउनुभयो । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बस्नुभयो। २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका पोखरेलले अर्को २ महिना जेलमा पर्नुभयो । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताउनुभयो । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि पर्नुभयो । त्यसपछि ९ महिना पाल्पा जेल बस्नुभयो ।
२०४८ को अधिवेशनपछि पोखरेल निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति बन्नुभयो । २०४८ सालको आमनिर्वाचनमा उहाँ नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार समेत बन्नुभयो । २०६२÷६३ सालको जनआन्दोलनमा उहाँले नवलपुरको कमान्ड सम्हाल्नुभयो। त्यो बेला पनि पनि उहाँ जेलमा पर्नुभयो । कांग्रेसको १२औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित हुनुभयो । कृष्णचन्द्र त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रनुभएको थियो ।
संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा पूर्वीनवलपरासी १ ९क० बाट कांग्रेस उम्मेदवार बन्नुभयो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी उहाँ गण्डकी प्रदेश सभा सदस्य बन्न सफल हुनुुभयो।
गण्डकी प्रदेशमा १५ सांसद रहेको कांग्रेसका कृष्णचन्द्र संसदीय दलका नेता समेत हुनुहुन्छ। अहिलेसम्म कांग्रेस प्रमुख प्रतिपक्षी दल छ । कृष्णचन्द्र प्रमुख प्रतिपक्षी दलका नेता हुनुहुन्छ। प्रमुख प्रतिपक्षी दल हुने बेलामा उहाँले प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन जहिल्यै क्रियाशील रहनुभयो । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उहाँले संसदमा सशक्त आवाज उठाउनुभयो ।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका पोखरेलले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गर्नुभयो। प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिनुभयो। त्यसपछि उहाँ माध्यमिक शिक्षाका लागि भारत पुग्नुभयो। माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किनुभयो । उहाँको पढ्ने रहर त्यतिमै सिमित रहने कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक समेत गर्नुभएको छ ।