कास्की २८, जेठ गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि भोली दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको हो । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि संसद सचिवालयले आज प्रदेश प्रमुखलाई औपचारिक जानकारी गराएको थियो ।
संसद सचिवालयको पत्र प्राप्त हुनासाथ प्रदेश प्रमुख पौडेलले सरकार गठनको आह्वान गर्नुभयो । प्रदेश प्रमुखको आह्वानसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । अब धारा १६८ को ५ अनुसार आफूसँग बहुमत भएको आधार प्रस्तुत गर्न सक्ने कुनै एक प्रदेशसभा सदस्यको नेतृत्वमा नयाँ सरकार गठन हुने छ ।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यकता पर्छ । त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रदेश प्रमुखको आह्वानपछि स–शरीर बहुमत सांसद उपस्थित गराएर मुख्यमन्त्रीको दावी गरेका छन् । गठबन्धनले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई यसअघि नै सरकारको नेतृत्वका लागि अघि सारेको छ ।