एजेन्सी २०, जेठ । म्यानमारको एक अदालतले गलत सूचना फैलाएको आरोपमा दुई जना पत्रकारलाई जेल सजाए सुनाएको छ । म्यानमारको दक्षिणी म्याइकमा रहेको सैन्य अदालतले उनीहरुलाई औपनिवेशिक युगको कानूनअन्तर्गत जेल चलान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले जनाएको छ ।
गत फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि गरेको रिपोर्टिङलाई अदालतले अपराधको रुपमा व्याख्या गर्दै डेमोक्रेटिक भ्वाइस अफ बर्मा (डीभीबी) का औङ क्याव र मिज्जिमा न्यूजका स्वतन्त्र संवाददाता जा जालाई दुई वर्षको जेल सजाय सुनाएको हो । सेनाविरुद्ध भइरहेको प्रदर्शनलाई दबाउने क्रममा पत्रकारहरुलाई जेल हालेको लोकतन्त्र पक्षधरहरुले आरोप लगाएका छन् ।
राजनीतिकरुपमा समस्याग्रस्त म्यानमारमा सेनाविरुद्ध रिपोर्टिङ गरेको र जनतालाई उक्साएको आरोपमा पत्रकारहरु तारो बनिरहेका छन् । म्यानमारमा सेनाले ‘कू’ गरेपछि अहिलेसम्म ८७ पत्रकार पक्राउ परिसकेका छन् भने ५१ पत्रकार अझै पनि हिरासतमा छन् ।