गोरखा ११, जेठ । गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारी औषधी सहितको स्वास्थ्य सामाग्री लिएर निर्वाचन क्षेत्रमा निस्किनु भएको छ । नेकपा माओबादी केन्द्रका स्थायी कमिटीका सदस्य समेत रहनु भएका सांसद अधिकारी कोरोना संक्रमणको भयावह बढ्दै गएपछि मंगलबार (आज) गृहजिल्ला गोरखामा औषधी सहितको सामाग्री लिएर निस्कनु भएको हो ।
पहिलो चरणमा जिल्लाको आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा पुग्ने उहाँले जानकारी दिनुभयो । सो क्रममा स्थानीय तहहरुका प्रमुख उप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख तथा वडाध्यक्षहरु संग भेटघाट गर्ने कार्यक्रम समेत रहेको सांसद अधिकारीले जानकारी दिनुभयो ।
यही जेठ १३ गतेसम्म गोरखा रहने र लगत्तै काठमाण्डौ फर्किए जिल्लाको अन्य क्षेत्रमा जाने योजनामा रहेको उहाँको भनाई छ । संस्थागत भेटघाट गरेर कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरुले गरेका प्रयास तथा समस्या बुझ्न गृह जिल्लामा निस्किएको छ, सांसद अधिकारीले भन्नुभयो, ‘महामारीको यो अबस्थामा सहयोग गर्न औषधी लगायत स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउने योजनामा हामी छौ ।’
यसअघि नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) पनि चित्किसक, औषधी सहितको स्वास्थ्यकर्मीको टोली लिएर गोरखाको कोरोना संक्रमति क्षेत्रमा पुगेर संक्रमणको उच्च जोखिमा परेका नागरिकहरुको एन्टिजेन परीक्षण गराउनुका साथै स्वास्थसंस्थामा औषधी, स्वास्थ्य सामाग्री बितरण गर्नुभएको थियो ।