गोरखा २ जेठ । गोरखा जिल्ला सहित गण्डकी प्रदेश भित्र आइतबार (आज) थप ७७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ३७८ र सबैभन्दा कम मुस्ताङमा १ जनामा संक्रमण देखिएको हो ।
प्रदेशका ११ वटा जिल्लामा १ हजार ६५२ जनाको नमूना परीक्षण गर्दा थप ७७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
निर्देशनालयमा कास्कीमा ३८७ , बाग्लुङमा ९९, पर्वतमा ९२ जना र स्याङजामा ६१ जना, गोरखामा ४९, लमजुङमा २६, म्याग्दीमा १२, मनाङमा २, मुस्ताङमा १, नवलपरासी पूर्व र तनहुँमा २४/२४ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा आज एकैदिन कोरोना संक्रमणबाट थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।