गोरखा १२, बैशाख । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले लोकतन्त्र प्राप्त भएको १५ बर्ष पुरा भएपनि जनताले अपेक्षा गरेका सवै चिज प्राप्त हुन नसकेको बताउनुभयो । गोरखाको सहिद लखन गाउँपालिकाको मूख्य प्रशासकिय भवनको शनिबार शिलन्यास कार्यक्रममा बोल्नुहुदै सांसद अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले लोकतन्त्रका आधारभूत मान्यता प्राप्त भएपनि लोकतन्त्रले प्रदान गर्ने नागरिकका इच्छा आंकक्षा र चाहाना पुरा हुन नसक्नु दुखद् भएको उल्लेख गर्नुभयो ।‘
लोकतन्त्र प्राप्त भयो तर पुराना बिचार, राजनीतिक मूल्य र मान्यताहरु अझै अन्त्य भएका छैन, सांसद अधिकारीले भन्नुभयो, यसले लोकतन्त्रलाई सहि दिशामा लैजान समस्या हुनसक्छ ।’ जनताको त्याग तपस्या र बलिदानी प्राप्त उपलब्धी खोस्ने कोसिस प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको भएपनि अदालतले ओलीको गलत हर्कतलाई उल्ट्याई दिएको बताउनुभयो ।
कार्यक्रममा सांसद अधिकारीले गाउँपालिकाको निर्माण गर्न लागिएको प्रशासकिय भवन निर्माणको काम निर्धारित समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले गाउँपालिकाले सवै प्रक्रिया पुरा भवन निर्माणको काम अघि बढाएको भन्दै निर्माणका क्रममा परेका समस्याहरुको समाधानका लागि सहजीकरण गर्न सवै पक्ष तयार रहेको भन्दै निर्माणका कार्यमा ढिलाई गर्ने छुट नरहेको बताउनुभयो ।
‘निर्धारित मितिमा काम हुन्छ, बरु तोकिएको समय भन्दा छिटो काम सक्नुस त्यसो गरे पुरस्कृत हुने अबसर पनि प्राप्त हुन्छ, सांसद अधिकारीले भन्नुभयो, ‘तर ढिलासुस्ती गर्ने कार्य कदापी स्विकार्य हुदैन ।’