गोरखा ८, बैशाख । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ डिकी डाँडाको एक घरमा गएराती नगद सहित गरगहना चोरी भएको छ । स्थानीय अमृत जिसीको घरमा कोही पनि नभएको अबस्थामा १ तोला सुन, नगद करिब ९५ हजार रुपैया चोरी भएको प्रहरीले जनाएको छ ।
चोरी गर्नेले घर भित्र पसेर घरमा रहेका अन्य सरसामान समेत तोडफोड गरेको पाइएको वडासदस्य भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो । छिमेकीले घर फोडेर चोरी गरेको जानकारी पाएलगत्तै घटना बारे प्रहरीलाई जानकारी गराइएको थियो । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनास्थलमा चोरीमा संलग्न व्यक्तिले निलो रङ्गको झोला, गीत बजाउने स्पिकर, मेमोरि कार्ड छोडेर गएको पाइएको स्थानीयको भनाई छ । घटनामा संलग्न भएको आंशकामा ४ जनालाई नियन्त्रण लिइएको छ । पक्राउ परेकाको पहिचान खुलाउन भने बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।