गोरखा, १६चैत ।
गोरखामा नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल पक्षले आज समानान्तर जिल्ला किमिटीको घोषणा गरेको छ । पार्टीका उपाध्यक्ष यादव बस्नेत अध्यक्षतामा सदरमुकाममा बसेको जिल्ला कमिटीको बैठकले ६४ सदस्सीय समानान्तर जिल्ला किमिटी घोषणा गरेको नेपाल–खनाल पक्षका नेता बिश्वेश्वर कट्टेलले जानकारी दिनुभयो । बैठकले पार्टीकोे जिल्ला कमिटीको अध्यक्षमा बस्नेतलाई चयन गरेको उहाँले बताउनुभयो ।
बैठकबाट १३ सदस्सीय जिल्ला पार्टी सचिवालय समेत गठन गरेको नेता कट्टेलले जानकारी दिनुभयो । नेपाल–खनाल पक्षले घोषणा गरेको जिल्ला पार्टी सचिवालयमा अध्यक्ष यादव बस्नेत सहित बिश्वेश्वर कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, द्रोण तिमिल्सिना, अमृत काराखेती, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदिप क्षेत्री, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहनु भएको छ ।
बैठकले जिल्लास्तर र जिल्ला भित्रका सवै स्थानीय तहमा समानान्तर संगठन निर्माण गरि राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको उहाँले बताउनुभयो । ‘हरेक गाउँपालिकामा खटिने नेताहरुको कार्य बिभाजन पनि जिल्ला कमिटीको बैठकले गरेको छ, उहाँले भन्नुभयो, त्यसबाहेक पार्टीको कार्यालय व्यवस्थापन गर्ने जिम्मेवारी समेत सचिवालयलाई दिने निर्णय भएको छ ।’
त्यस्तै जिल्ला भित्रका स्थानीय तहहरुमा पार्टी कार्यालय व्यवस्थित गर्न आर्थिक योजना बनाउन र सम्पूर्ण कमिटी परिचालन गर्ने निर्णय बैठकले गरेको नेता कट्टेलले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य पिएल श्रेष्ठले पार्टी र जनता बिचको बिश्वास र सम्बन्ध जोगाइ राख्न समानान्तर कमिटी गठन गर्नु परेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री समेत रहनु भएका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीको बिधि बिधान बिपरित निर्णयहरु गर्दै जादाँ संगठन ध्वस्त हुदै जाने अबस्था आएकाले पार्टीका राजनीतिक सिद्धान्तलाई कार्यकर्ता र जनता माझ पु¥याउन तत्काल समानान्तर कमिटी गठन गरि राजनीतिक प्रशिक्षण सुरु गर्नु परेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिप्रसाद काफ्ले र जुद्धबिलास भण्डारीको सहभागिता रहेको थियो ।