गोरखा ८, चैत । गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा आज ५६ औं अन्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस मनाइएको छ । दलित शशक्तिकरण अभियान नेपाल गोरखा तथा दलित सञ्जाल गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बक्ताहरुले समाज भइरहेको जातिय बिभेदलाई अन्त्य गर्न समुदाय नै बढी सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले दलित समुदायले आफ्नो हक अधिकारका लागि आफैले संर्घष गर्नुपर्ने अबस्था आएको बताउनुभयो । ‘जातिय बिभेदको पूर्ण अन्त्य भएकै छैन, यसको पूर्ण अन्त्य हुनु जरुरी छ, उहाँले भन्नुभयो, आबश्यक परे बिभेद अन्त्यका लागि हामी आफै फेरि सर्घषमा उत्रनुपर्छ ।’
उपप्रमुख बसेलले १० बर्षे जनयुद्ध र त्यसपछि बिभिन्न आन्दोलनबाट प्राप्त संबिधान सभा मार्फत बनेको नेपालको संबिधानमा जातिय बिभेदको अन्त्य गरिएको भएपनि व्यवहारमा भने समाजमा अझै जातिय बिभेदको पूर्ण रुपमा अन्त्य हुन नसकेको उल्लेख गर्नुभयो । ‘संबिधानमा लेखिएको दलित समुदायका अधिकार साच्चै कति व्यवहारमा प्राप्त भएका छन् त ? त्यसको बारेमा पनि सोच्नु पर्ने बेला आएको छ, उहाँले भन्नुभयो, अब आफ्नो अधिकार प्राप्तीका लागि दलिय समुदायलाई अझै जागरुक बनाउनु पर्ने आबश्यकता छ ।’

उपप्रमुख बसेलले समाजमा जानेका बुझेका व्यक्तिहरुबाट समेत बिभेद हुने गरेको पाइएको भन्दै कानुनको पूर्ण कार्यान्वयन गर्न सके मात्र यस्ता खालका समस्याको समाधान हुनसक्नेमा जोड दिनुभयो । दलित शशक्तिकरण अभियान नेपाल गोरखा जिल्ला अध्यक्ष बालकृष्ण अक्षामीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णबहादुर परियार, दलित अगुवा रबिन गैरे लगायतको सहभागिता रहेको थियो ।